किन वर्षा लाग्ने बेलामै सडक कालोपत्रे गरिन्छ ?

जब वर्षा सुरु हुन्छ, तब मात्रै नयाँ सडकको नयाँ ट्र्याक खोल्नेदेखि सडक कालोपत्रे गर्ने काम धमाधम हुन थाल्छ । आखिर सरकार किन सधैं वर्षातको समयमा मात्रै यस्तो काम गर्न तम्सिन्छ त ?  
केन्द्रीय सडक प्रयोगशालाका ल्याब अधिकृत गगनराज कर्णजित भन्नुहुन्छ– ‘सडक कालो पत्रे गर्न चैतदेखि जेठसम्मको समय उपयुक्त हो । तर विभिन्न प्रकृया पूरा गरी मात्रै वर्षातको समयमा काम सुरु हुने हुँदा सडक त्यति गुणस्तरको बन्दैन र चाँडै बिग्रिन्छ ।’ 
चैतदेखि जेठसम्मको समयमा जमिन तात्ने हुँदा सडक कालो पत्रे गर्न यही बेला उपयुक्त मानिन्छ । प्राविधिकहरुका अनुसार सडक कालो पत्रे गर्न जनिमको तापक्रम न्युनतम २० डिग्री हुनुपर्छ । ‘नयाँ सडकको ट्र्याक खोल्नेदेखि कालो पत्रेसम्मका काम गर्न फागुन महिनादेखि विभिन्न चरणको प्रकृयागत काम थाल्छौँ’ सडक विभागका सहायक प्रवक्ता लक्ष्मीदत्त भट्टले भन्नुभयो ।
‘विभिन्न चरणमा गरेको प्रकृयागत काम गर्दा गर्दै वर्षातको मौसम सुरु हुन्छ’ सहप्रवक्ता भट्टको भनाई छ, ‘तर पानी परेको दिन छलेर कालो पत्रेको काम गरिरहेका छौँ ।’ 

कालो पत्रेको गुणस्तर कस्तो ?

नेपालमा तीन किसिमको कालोपत्रे बिधि प्रचलनमा रहेको सडक विभागले जनाएको छ । असफाल्ट कंक्रिट, प्रिमिक्स कार्पेटिङ र सर्फेस डे«सिङ बिधि कालो पत्रे गर्न नेपालमा बढी चलेको छ । असफाल्ट कंक्रिट प्रबिधिको प्रयोग गरी कालो पत्रे गर्दा ६ देखि ७ वर्षसम्म टिक्ने प्राविधिकहरुको दावी छ । 
प्रिमिक्स कार्पेटिङ कालोपत्रे स–सानो गल्लीमा बन्ने सडकमा गरिन्छ । यसलाई सस्तो प्रबिधि भनिन्छ भने यो ढल पानीले नबिगारे २ देखि ३ वर्षसम्म टिक्छ । सर्फेस डे«ेसिङ बिधि पनि प्रिमिक्स कार्पेटिङ जस्तै हुन्छ । 

कालोपत्रे गर्न खर्च कति ?

नेपालमा ४ देखि १० सेन्टिमिटर मोटाईको सडक कालो पत्रे बन्ने गर्दछ । असफाल्ट कंक्रिट बिधिबाट कालो पत्रे गर्न सरदर एक घनमिटरको १६ हजार रुपैंया लाग्ने गर्दछ भने सर्फेस ड्रेसिङ र प्रिमिक्स कार्पेटिङ बिधिमार्फत कालोपत्रे गर्न १४ हजार रुपैंया लाग्ने प्राबिधिकको आँकलन छ । 

नेपालमा सडकको क्षमता कति ?

नेपालको सडकको पारवहन क्षमता धेरै छैन । यहाँ हुने कालो पत्रे प्रायःजसो १० टन सम्मको पारवहन क्षमताको मात्रै छ । यसलाई एक्सेल साईज (५सेन्टिमिटर) को सडकमा १० टन सम्मको पारवहन क्षमता हुन्छ भन्ने प्राबिधिक मान्यता छ । 

के गर्दा कालोपत्रे बलियो हुन्छ ?

सडक कालो पत्रे गर्न चाहिने मुख्य सामग्री विटमिन (अलकत्रा), एग्रिगेट (१६ मिलिमिटर भन्दा मुनिको गिट्टी (रोडा), ८ मिलिमिटर भन्दा मुनिको गिट्टी (चिप्स्), बालुवा र माटोको धूलो चाहिन्छ । यी सामग्रीलाई मिसाई एक सय ६० डिग्रिको तापक्रममा प्लान्टमा भुट्ने गरिन्छ । 
भुटेको सामाग्री ४० डिग्री सम्मको तापक्रम हुँदासम्म कालो पत्रे पेलिसक्नु पर्नेछ । भने ४० डिग्री भन्दा कम तापक्रम भएपछि कालो पत्रे गरेमा काम नलाग्ने प्राबिधिकले जनाएको छ ।  

सडक कालोपत्रे गर्दाको चुनौती

सडक कालो पत्रे गर्नका लागि कच्चा पदार्थ गुणस्तरको नहुनु, ठेक्कापट्टा हुँदा कम रकम कबोल गर्नेलाई दिने प्राबधानले गर्दा कम गुणस्तरीय काम गर्ने प्राविधिक क्षमताका कारण, सडक कालो पत्रे गर्दा सिफारिस गरे अनुसारको गुणस्तरीय कच्चा पदार्थको प्रयोग हुन नसक्दा कालोपत्रे कम गुणस्तरको हुने गरेको छ । 
बेमौसममा काम गर्दा, ठेकेदार कम्पनीको काम गर्ने प्रक्रिया र तरिका नमिलेर, उचित औजार प्रयोग नगर्दा र अनुगमन, निरीक्षण गर्ने निकायले देखिने किसिमको काम गर्न नसक्नु सडक कालो पत्रेमा देखिएको चुनौती हुन् । 

कालोपत्रे सडक बिग्रिन नदिन के गर्ने ?

सामान्यतया सडक कालो पत्रे गर्दा प्रयोग हुने विटमिन (अलकत्रा) ५ वर्षपछि टाँसिने गुणको मात्रा घट्दै जाने गर्दछ । र कालो पत्रे सडक बिस्तारै बिग्रिंदै जान्छ । कालो पत्रे गरेको सडक लामो समयसम्म टिकाई राख्न मुख्य गरी ढल र पानी जम्न नदिने, सडकको क्षमता भन्दा बढी क्षमताको सवारी साधन चल्न दिन नहुने बिज्ञको सुझाब छ  ।  

कति सडक कालोपत्रे ?

नेपालमा रणनीतिक र स्थानीय गरी दुई किसिमका सडक छन् । १५ हजार किलोमिटर रणनीतिक सडकमध्ये ६ हजार ५ सय किमि कालो पत्रे सडक भईसकेको  छ । स्थानीय सडक भने ५३ हजार किलो मिटर छ । स्थानीय सडक भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हेर्ने गर्छ । 
सडक विभागले दिएको जानकारी अनुसार यस आर्थिक वर्षमा ७ सय किलोमिटर सडक कालो पत्रे लक्ष्य राखेकोमा हालसम्म जम्मा दुई सय ५० किमि मात्रै कालो पत्रे भएको छ । 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments: